आज मेघगर्जन-चट्याङसहित वर्षा हुने
आज मेघगर्जन-चट्याङसहित वर्षा हुने
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौँ। २५ पुस । आज (आइतबार) देशका विभिन्न स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा तथा उच्च पहाडी–हिमाली भेगमा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आज (आइतबार) बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो (बिहान १०/११ बजेदेखि साँझ ६ बजेसम्मको अवधि बुझ्नुपर्छ) सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। बाँकी प्रदेशका पनि एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।
साथै उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको बुलेटिनमा उल्लेख छ। मौसमविद् गंगा नगरकोटीले भने बुलेटिनमा सुदूरपश्चिम, कर्णाली र लुम्बिनीबाहेक अन्य प्रदेशका पनि एक/दुई स्थानमा वर्षाको सम्भावना उल्लेख गरिए पनि त्यो सम्भावना एकदमै कम रहेको बताइन्।
यस्तै आज काठमाडौं उपत्यकामा पनि वर्षाको सम्भावना एकदमै कम रहेको उनले बताइन्। ‘भइहाले फाटफुट वर्षा हुन सक्छ’, उनले भनिन्। उनका अनुसार आज बिहान ६ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस छ।
प्रतिक्रिया