सागर पन्त
काठमाडौं, १७ भदौ। बनस्थली–ढुंगेधारा–रानीबन सडकखण्डको ढुंगेधारा सडक छेउमै रहेको जोखिमपूर्ण खाल्डोका कारण सर्वसाधारणले लामो समयदेखि जोखिम मोलेर यात्रा गर्नुपरेको छ। सानो खोला छेउमा रहेको उक्त खाल्डो वरपर कुनै सुरक्षा बार, रेलिङ वा घेराबार नहुँदा दुर्घटनाको जोखिम बढेको छ।
सामान्य अवस्थामा खाल्डो देखिए पनि पानी पर्दा पानीले भरिएपछि यसको गहिराइ र अवस्था छुट्याउनसमेत कठिन हुने स्थानीय बताउँछन्। वर्षायाममा साना तथा ठूला सवारीसाधन आवतजावत गर्दा सडकमा पानी र हिलो जम्मा हुने भएकाले समस्या झन् बढ्ने गरेको छ।
विशेषगरी मोटरसाइकल तथा स्कुटर चालकलाई बढी जोखिम हुने गरेको छ। पानी जमेको अवस्थामा सडक र खाल्डो छुट्याउन नसक्दा दुईपांग्रे सवारीसाधन खाल्डोमा फस्ने तथा डुब्ने अवस्था आउने गरेको स्थानीयको भनाइ छ। स्थानीयका अनुसार यो समस्या लामो समयदेखि रहँदै आए पनि सम्बन्धित निकायले आवश्यक चासो दिएको छैन।
सडक छेउमै जोखिमपूर्ण अवस्था रहेकाले कुनै पनि बेला दुर्घटना हुन सक्ने भन्दै स्थानीयले तत्काल खाल्डो व्यवस्थापन गरी सुरक्षा बार वा रेलिङ राख्न माग गरेका छन्। दैनिक ठूलो संख्यामा सवारीसाधन तथा पैदल यात्रु आवतजावत गर्ने बनस्थली–ढुंगेधारा–रानीबन सडकमा सम्भावित दुर्घटना हुनुअघि नै सम्बन्धित निकायले ध्यान दिनुपर्ने स्थानीयको भनाइ छ।
पानी पर्दा झन् जोखिमपूर्ण बन्ने उक्त स्थानमा तत्काल मर्मत तथा सुरक्षा व्यवस्था नगरे गम्भीर दुर्घटना निम्तिन सक्ने देखिन्छ।