काठमाडौँ, २६ कात्तिक। भारतका पूर्वक्रिकेटर इफरान पठान नेपाल प्रिमियर लिग (एनपिएल) हेर्न त्रिवि क्रिकेट मैदानमा पुगेका छन्।
आज जारी पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीचको खेल हेर्न उनी त्रिवि क्रिकेट मैदान पुगेका हुन्। उनी पोखरा एभेन्जर्सका क्रिकेट एमबासडरसमेत हुन्। उनी बिहीबार बिहान मात्र नेपाल आइपुगेका थिए।
एनपिएल हेर्न त्रिवि मैदान पुगेका पठानले दर्शकसँग सेलिब्रेसनसमेत गरेका थिए। उनले दर्शकसँग हात मिलाउनुका साथै दर्शकलाई एउटा क्रिकेट बल पनि दिएका थिए।
भारतका पूर्व बायाँहाते तीव्र गतिका बलर तथा अलराउन्डर पठानले अन्तर्राष्ट्रिय क्रिकेटमा बलिङ र ब्याटिङ दुवैबाट प्रभाव छाडेका छन्। भारतले सन् २००७ मा पहिलो पटक टी–२० विश्वकप जित्दा उनी टोलीका महत्त्वपूर्ण सदस्य थिए।