२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण : नेपालको आर्थिक विकास र क्षेत्रीय अखण्डताका लागि कोशेढुंगा

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण : नेपालको आर्थिक विकास र क्षेत्रीय अखण्डताका लागि कोशेढुंगा

गण्डकी टाइम्स
शनिवार, आश्विन १३ २०८०
गण्डकी टाइम्स
शनिवार, आश्विन १३ २०८०
  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्र संघको महासभा र मित्रराष्ट्र चीनको औपचारिक भ्रमण सम्पन्न गरि स्वदेश फर्कनुभएको छ। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन भदौ ३० गते अमेरिका जानुभएका प्रधानमन्त्री प्रचण्ड उतैबाट चीनको औपचारिक भ्रमणमा जानुभएको थियो । असोज ६ गतेदेखि उत्तरी छिमेकी चीनको भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्ड र चिनियाँ समकक्षी ली छयाङको उपस्थितिमा दुई देशबीच १२ बुँदे सहमति भयो। चीन भ्रमणका क्रममा नेपाल–चीनबीच महत्वपुर्ण समझदारी भएका छन्। नयाँ भएका समझदारीले नेपालको सामाजिक–आर्थिक विकाससंगै व्यापारघाटा कम गर्न महत्त्वपूर्ण योगदान दिने छ। प्रधानमन्त्री प्रचण्डमा चीनमा रहदा हाङ्झाउमा १९औँ एसियाली खेलकुद उद्घाटन समारोहमा सहभागी हुन भयो भने त्यहाँ उहाँले चिनियाँ राष्ट्रपति सी जिनपिङसित उद्घाटन समारोहमा शिष्टाचार भेट गर्नुभयो । उद्घाटन पछिको साइडलाइनमा प्रधानमन्त्री प्रचण्डको राष्ट्रपति सीसँग १५ मिनेट एक्लाएक्लै कुराकानी भयो भने त्यसपछि हाङ्झाउको बेस्ट स्टेट गेस्ट हाउसमा थप एक घन्टा भेटवार्ता भयो । प्रधानमन्त्री प्रचण्डलाई बेइजिङको ग्रेट हल अफ द पिपुल्समा चीन सरकारका तर्फबाट जनमुक्ति सेनाले राजकीय सम्मानस्वरूप सलामीसहित ‘गार्ड अफ अनर’ दिएको थियो । ल्हासामा समेत भव्य सांस्कृतिक स्वागत पाउनु भएका प्रधानमन्त्री प्रचण्डले चिनियाँ प्रधानमन्त्री ली छ्याङसंग बेइजिङमा २५ मिनेट एक्लाएक्लै कुराकानीसमेत गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले छिमेकीसँग मैत्रीपूर्ण सम्बन्धमा विगतजस्तै असंलग्न नीति कायम गर्ने स्पष्ट संकेत दिएर चिनियाँहरूलाई आश्वस्त पार्ने प्रयास गर्दै उहाँले भ्रमणकोक्रममा नेपाल चीनसंग विकासमा साझेदारी गर्न चाहान्छ भन्ने सन्देश दिनुभएको छ। प्रधानमन्त्री प्रचण्डले चीनसंग नेपालको सम्बन्ध निरन्तर असल छिमेकीको उल्लेखनीय उदाहरण भएको जनाउदिदै नेपाल–चीन सम्बन्ध सहस्राब्दी पुरानो सांस्कृतिक, आर्थिक र जनता–जनताबीचको सम्बन्धमा आधारित रहेको र शान्तिपूर्ण सहअस्तित्व, सद्भाव, सद्भावना र पारस्परिक विश्वासका सिद्धान्तहरूद्वारा निर्देशित भएको सन्देश दिनुभएको छ । प्रचण्डले नेपालको सामाजिक–आर्थिक विकास र क्षेत्रीय अखण्डताका लागि चीनको निःशर्त समर्थनको पनि उच्च कदर गर्दै जुन नेपालको सौहार्दपूर्ण र छिमेकी सम्बन्धको विशेषता भएको सन्देश दिनुभएको छ। प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणले नेपाल–चीन सम्बन्ध थप सुदृढ हुने र नयाँ उचाइ हासिल गरेको छ भने नेपाललाई सडक, रेलमार्ग, प्रसारण लाइन, हवाई मार्ग र दूरसञ्चार लगायतका सीमापार सम्पर्क सञ्जालहरू विकास गर्ने काममा भ्रमणले ठुलो अबसर दिएको छ । नेपालका मुख्य प्राथमिकताहरूमा सीमापार आर्थिक क्षेत्रहरू स्थापना गर्ने, सीमा-नाकाहरूमा व्यापार र लगानीसम्बन्धी पूर्वाधार विस्तार गर्ने र यसअघि चीनसंग भएका द्विपक्षीय सम्झौता र समझदारीहरूको प्रारम्भिक कार्यान्वयन रहेका छन्, जसलाई यो भ्रमणले एउटा निष्कर्षमा पुर्याएको पाउन सकिन्छ । भ्रमणको अर्को महत्वपुर्ण उपलब्धि भनेको चीन र नेपाल बिचको सिधा हवाई सम्पर्क सञ्जाल विस्तार हो। भ्रमणको क्रममा चीनका विभिन्न शहरहरूबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाई उडानको सहमति भएको छ। जसले चीन–नेपाल सम्बन्ध र सहकार्यलाई अझ कसिलो बनाउने छ । लुम्बिनी र पोखरा विमानस्थलबाट चीनका विभिन्न सहरमा उडान सञ्चालन गर्ने हो भने यसले नेपालको पर्यटन क्षेत्रलाई पुनर्जीवन दिन र नेपालमा रोजगारीका अवसरहरू सिर्जना गर्न महत्त्वपूर्ण सहयोग मिल्नेछ । प्रधानमन्त्री प्रचण्डको यो भ्रमणले नेपाल शक्तिराष्ट्रहरूसँगको सम्बन्धलाई सन्तुलनमा राख्ने कूटनीतिमा सफल देखिएको विश्लेषण हुन थालेको छ । प्रचण्डको यो भ्रमण नेपालका लागि मात्रै होइन, चीनका लागि झन् बढी महत्त्वपूर्ण देखियो। प्रधानमन्त्री प्रचण्डले चीन भ्रमण सोचेभन्दा सफल भएको बताउनुभएको छ। आफ्नो चीन भ्रमण सोचेभन्दा पनि बढी सफल भएको आफूले महसुस गरेको उहाँको प्रतिकिया थियो । प्रचण्डको यो भ्रमणले नेपालमा चीनको महत्त्वपूर्ण प्राविधिक, उत्पादन र बजारीकरणको कौशल उपयोग गर्ने अबसरसंगै चीनले नेपाललाई ताजा लगानीसहित आधुनिक कृषि तथा खाद्य प्रशोधन प्रविधि उपलब्ध गराउन सहयोग गर्नेछ। जसले हाम्रो कृषि निर्यातमा वृद्धि र व्यापार घाटा कम गर्नेछ। चीनले नेपाली कृषि-पशुपन्छीजन्य उत्पादनलाई आफ्नो विशाल बजार खुला गर्ने बिषयमा भ्रमणको अर्को महत्वपुर्ण उपलव्धि मान्न सकिन्छ । चीनसँगका यसअघि सहमत भएका एजेन्डा र समझदारीहरूको तत्काल र समयावधि तोकेरै कार्यान्वयन गर्ने कुराको यो भ्रमणले ग्यारेन्टी गरेको छ । नेपालमा थप चिनियाँ प्रत्यक्ष लगानी आकर्षित गर्ने बिषयमा भ्रमणले थप सुनिश्चिता गरेको छ। नेपाल-चीनको बिचमा शताब्दीयौँदेखिको जनता-जनताबिचको मैत्रीपूर्ण सम्बन्ध र सांस्कृतिक सहकार्य रहदै आएको छ । प्रधानमन्त्री प्रचण्डको यो भ्रमणले नेपाल र चीन सम्बन्धका आपसी विश्वास र सहकार्य थप मजबुत हुने देखिएको छ भने नेपालको सामाजिक–आर्थिक विकासमा र क्षेत्रीय अखण्डताका लागि यो भ्रमण कोशेढुंगा सावित भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij