२०८३, कार्तिक १७ गते

सोमवार, कार्तिक १७ गते २०८३

सहिद सप्ताहको चौथो दिन : आज सहिद धर्मभक्त माथेमाको सम्झना

सहिद सप्ताहको चौथो दिन : आज सहिद धर्मभक्त माथेमाको सम्झना

गण्डकी टाइम्स
बिहिवार, माघ १३ २०७८
गण्डकी टाइम्स
बिहिवार, माघ १३ २०७८
  • काठमाडौं, १३ माघ । सहिद सप्ताहको चौथो दिन आज सहिद धर्मभक्त माथेमाको शालिकमा माल्यापर्ण गरी सम्झना गरिएको छ । प्रजातन्त्र प्राप्तिका लागि माथेमाले अमरत्व प्राप्त गर्नुभएको स्थलमा रहेको शालिकमा आज पुष्पगुच्छा अर्पण गरी उनलाई स्मरण गरिएको छ ।

    माथेमा जन्मिएको ठाउँ काठमाडौँको ओमबहाल र अमरत्व प्राप्त गरेको ठाउँ सिफल उकालोमा महानगरले माथेमाको पूर्ण कदको शालिक प्रतिस्थापन गरिसकेको छ । आज उनको उक्त शालिकमा नै माल्यार्पण गरेर स्मरण गरिएको हो ।

    कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्य, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, वडा ७ का अध्यक्ष शुद्धकुमार डङ्गोल तथा वडा सदस्य र सीमित कर्मचारी सहभागी भएर शालिकमा पुष्पगुच्छा अर्पण गरिएको हो । कोरोना महामारी भएकाले यस वर्ष सहिद सप्‍ताहका कार्यक्रम सीमित व्यक्तिका बीच आयोजना भइरहेका छन् ।

    वि.सं १९६६ असोज १ गते काठमाडौँको ओम बहालमा जन्मिएका माथेमालाई तत्कालीन शासकको विरुद्धमा गतिविधि सञ्चालन गरेको आरोप लगाई विसं १९९७ माघ १३ गते काठमाडौँको सिफलमा रहेको बकाइनोको रुखमा झुन्ड्याएर प्राण दण्ड दिइएको थियो ।

    काठमाडौँ महानगरले सहिद माथेमाको सम्मानमा ‘धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम’ निर्माण गर्दैछ । नागार्जुन नगरपालिकाले उपलब्ध गराउने वडा नं ६ सेतो गुम्बासँग जोडिएको बागेश्वरी मन्दिर परिसरको करिब १८ रोपनी जग्गामा आश्रम निर्माण हुनेछ । यसका लागि महानगरपालिकाले नगरपालिकालाई विस्तृत परियोजना प्रतिवेदन बुझाइसकेको छ ।

    तत्कालीन राणा प्रधानमन्त्री जुद्धशम्शेरले विसं १९९७ माघ ६ गते शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई ज्यान दण्ड दिने निर्णय गरेको थियो । निर्णय भएको चार दिनपछि शुक्रराज शास्त्रीलाई टेकु पचलीमा झुन्ड्याएर, सात दिनपछि माथेमालाई सिफल उकालोमा झुन्ड्याएर र नौ दिनपछि दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवतीमा गोली हानी ज्यानदण्ड दिइएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij