काठमाडौं, ९ मंसिर । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुको कोरोना परीक्षण गरिएको छ । कोरोना भाइरस परीक्षणको लागि मंगलबार खेलाडी प्रशिक्षक अफिसियल र ग्राउण्ड स्टाफहरुको स्वाब संकलन गरिएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
सोमबार नै खेलाडीहरुको कोरोना परीक्षण गर्ने भनिएपनि खेलाडीहरु जम्मा हुन समय लागेकोले आज गरिएको हो । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमै उनीहरुको स्वाब संकलन गरिएको हो ।
२० खेलाडी र प्रशिक्षक तथा १३ ग्राउण्ड स्टाफ गरी ३३ जनाको स्वाब संकलन भएको राष्ट्रिय टिमको फिजियो तथा व्यवस्थापक विक्रम न्यौपानेले जानकारी दिएका छन । बाँकी रहेका खेलाडीहरुले मंगलबार साँझसम्म स्टार हस्पिटलमा गएर स्वाब दिने उनले बताएका छन । यस्तै बाँकी रहेको ग्राउण्ड स्टाफको पनि साँझ सम्म स्वाब संकलन गरिने उनले जानकारी दिएका छन ।
क्यानले बन्द प्रशिक्षणका लागि जम्मा २२ खेलाडीलाई डाकेको छ । अब कोरोना परीक्षणपछि नेगेटिभ रिपोर्ट आउने खेलाडीहरुले बुधबारदेखि सुरु हुने बन्द प्रशिक्षणमा सामेल हुनेछन् । कोरोना पोजेटिभ आउने खेलाडीहरुले भने तत्काल प्रशिक्षण गर्न पाउने छैनन् ।