एजेन्सी। जापानको श्रम मन्त्रालयले सन् २०२३ मा गरेको सर्वेक्षणमा जागिर खोज्ने ३१.९ प्रतिशत अर्थात् करिब तीनमध्ये एक जनाले यौन दुर्व्यवहार भोगेको बताएका छन्। दुर्व्यवहारमा परेकामध्ये २५ प्रतिशतभन्दा बढीले अनावश्यक शारीरिक सम्पर्क र यौनसम्बन्धी प्रश्नको सामना गरेको बताएका छन्। करिब २९ प्रतिशतले भने यौनजन्य ठट्टा र जिस्क्याउने व्यवहार भोगेको बताएका छन्।
यस्ता घटनाका कारण चारमध्ये एक जनाले जागिर खोज्ने उत्साह घटेको बताएका छन् भने एकतिहाइभन्दा बढीले रिस, असन्तुष्टि वा चिन्ता महसुस गरेको बताएका छन्। करिब दुई दर्जन पीडितलाई मानसिक स्वास्थ्यमा परेको असरका कारण अस्पतालमा उपचारसमेत आवश्यक परेको थियो।
यसअघि यस्ता घटना कम्पनीहरूले लुकाउने प्रयास गर्ने गरेको भए पनि पछिल्ला वर्षमा अदालतमा पुगेका घटनाले समस्या सार्वजनिक बहसमा ल्याएका छन्। सन् २०१९ मा भर्तीका नाममा विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक निर्माण कम्पनीका कर्मचारीमाथि मुद्दा चलेको थियो। सो कम्पनीले भर्ती प्रक्रियामा हुने दुर्व्यवहार रोक्न विशेष कार्यालय स्थापना गर्दै कर्मचारीलाई तालिम दिएको थियो।
त्यही वर्ष अर्को ट्रेडिङ कम्पनीका कर्मचारीमाथि पनि एक विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो। कम्पनीले आरोप सार्वजनिक भएपछि उनलाई अनुशासनात्मक रूपमा बर्खास्त गरेको जनाएको थियो।