गोरखाको भीमसेन थापा गाउाँपलिमा स्याटेलाइट क्लिनिक सञ्चालन
गोरखाको भीमसेन थापा गाउाँपलिमा स्याटेलाइट क्लिनिक सञ्चालन
गण्डकी टाइम्स
गण्डकी टाइम्स
गोरखा, ५ चैत। दुर्गम भूगोल, सीमित पूर्वाधार र आर्थिक कठिनाइका कारण सामान्य स्वास्थ्य सेवासमेत सहजै नपाइने अवस्था अझै धेरै ग्रामीण बस्तीको यथार्थ हो। तर गोरखाको भीमसेन थापा गाउँपालिकाले भने यही चुनौतीलाई अवसरमा बदल्दै “सुलभ स्वास्थ्य सेवा” अभियानमार्फत नागरिकको घरआँगनमै स्वास्थ्य सेवा पुर्याउने प्रशंसनीय पहल अघि बढाएको छ।
गाउँपालिकाले वडा नं. ३ तान्द्राङस्थित तान्द्राङ स्वास्थ्य चौकीमा निःशुल्क स्याटेलाइट क्लिनिक सञ्चालन गरेको छ । यस क्लिनिकमार्फत सामान्य स्वास्थ्य परीक्षणसँगै दन्त सेवा, आँखा जाँच तथा आवश्यक उपचार र परामर्श सेवा प्रदान गरिनेछ। गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जराका अनुसार यो सेवा केवल उपचारमा सीमित नभई नागरिकमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने महत्वपूर्ण अभियान पनि हो।
“हामीले नागरिकलाई सहर धाउन बाध्य बनाउने होइन, सेवा नै नागरिकको घरदैलोमा पुर्याउने लक्ष्य राखेका छौँ,” अध्यक्ष बन्जराले भने, “स्वास्थ्य सेवा सबैको आधारभूत अधिकार हो, त्यसैले यसको पहुँच सहज बनाउनु हाम्रो दायित्व हो।”
कार्यक्रममा सहिद स्मृति आधारभूत अस्पतालका अनुभवी चिकित्सक डा. आमोर लोहनी, डेन्टल हाइजेनिष्ट जीवन यादव, नेत्र सहायक रचना केसीलगायतको टोलीले प्रत्यक्ष रूपमा सेवा दिनेछन्। उनीहरूले बिरामीको परीक्षण मात्र होइन, रोगको पहिचान, रोकथाम र जीवनशैलीसम्बन्धी परामर्शसमेत प्रदान गर्नेछन्।
गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालका अनुसार स्याटेलाइट क्लिनिक सेवा नियमित रूपमा सञ्चालन हुँदै आएको छ र यसको सकारात्मक प्रभाव पनि देखिन थालेको छ। “पहिले साना–साना समस्याका लागि पनि नागरिकले घण्टौँ यात्रा गर्नुपर्थ्यो, अहिले गाउँमै विशेषज्ञ सेवा पाउँदा उनीहरू निकै राहत महसुस गरिरहेका छन्,” उनले बताए ।
स्थानीयवासीहरू पनि यस अभियानप्रति उत्साहित देखिएका छन्। तान्द्राङकी एक स्थानीय महिला भन्छिन्, “आँखा जाँच र दाँतको उपचारका लागि सहर जानुपर्ने झन्झट अब कम भयो। यस्तो सेवा गाउँमै पाउनु हाम्रो लागि ठूलो सहयोग हो।” यस अभियानले केवल स्वास्थ्य सेवा उपलब्ध गराउने मात्र होइन, ग्रामीण जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउने संकेतसमेत दिएको छ। नियमित जाँच र परामर्शका कारण रोग पहिल्यै पहिचान हुने, खर्च घट्ने र स्वास्थ्यप्रति सचेतना बढ्ने अपेक्षा गरिएको छ।
भीमसेन थापा गाउँपालिकाले आगामी दिनमा अझ बढी वडाहरूमा यस्तो सेवा विस्तार गर्ने योजना बनाएको छ। गाउँपालिकाले तोकिएको मिति र समयमा उपस्थित भई निःशुल्क सेवा लिन सबै नागरिकलाई आग्रहसमेत गरेको छ।
प्रतिक्रिया