सपना रोका ‘ईन्द्रेणी दोहोरी तारा २०८२’ को विजेता घोषित
सपना रोका ‘ईन्द्रेणी दोहोरी तारा २०८२’ को विजेता घोषित
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, २८ असार । लोकसंगीतको क्षेत्रमा नयाँ प्रतिभा उदाउने मञ्चका रूपमा स्थापित ‘ईन्द्रेणी दोहोरी तारा २०८२’ को उपाधि यसपटक सपना रोकाले जितेकी छिन्। काठमाडौंको बुद्धनगरस्थित ईन्द्रेणी साँस्कृतिक विकास केन्द्रमा सुष्मा ठकुरी फाउन्डेशन नेपालद्वारा आयोजित दोहोरी प्रतियोगितामा सपना ४२ प्रतिस्पर्धी टिमलाई पछि पार्दै प्रथम स्थानमा पुगिन्।
सपना रोकाले प्रभावशाली प्रस्तुति दिँदै नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।प्रतियोगिताको दोस्रो स्थान टेकराज भण्डारीले हात पार्दै उनले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी र प्रमाणपत्र जिते।
प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने कलाकारहरूलाई पनि सम्मान गरियो।
उत्कृष्ट गायक: सरोज सिम्खडा
नव गायक: सुवास रेग्मी
अनुशासित गायिका: लुमा केसी
उत्कृष्ट भेषभूषा: शंकर क्षेत्री
कार्यक्रमले केवल प्रतिस्पर्धी प्रतिभालाई मात्रै होइन, लोकसंगीतमा योगदान पुयाएका अग्रजहरूलाई पनि सम्मान गरेको थियो। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष अमर बिरही गुरुङ, वरिष्ठ लोकगायक प्रेम राजा महत, चलचित्र निर्देशक एवं संगीतकार नारायण रायमाझी तथा प्रतिष्ठानका पूर्व अध्यक्ष प्राज्ञ दुर्गा रायमाझीलाई विशेष सम्मान प्रदान गरिएको थियो।
प्रतियोगिताको निर्णायक मण्डलमा इन्द्र जिसी, सीता थापा, राजु ढकाल (निर्णायक संयोजक), श्याम राना, बबिता बानियाँ “जेरी”, मीना बुढाथोकी, प्रकाश पराजुली, जालु माया गुरुङ, बीमा अनुरागी लगायतको उपस्थिति थियो।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति माननीय निशा शर्मा प्रमुख अतिथि रहेको कार्यक्रममा सुष्मा ठकुरी फाउन्डेशनकी अध्यक्ष सुष्मा शाही ठकुरीले स्वागत मन्तव्य दिँदै सामाजिक तथा सांस्कृतिक क्षेत्रमा योगदान पुर्याउने उद्देश्यसहित फाउन्डेशनले पहिलोपटक आयोजना गरेको यो कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिने घोषणा गरिन्।
कार्यक्रमको मुख्य प्रायोजन ईन्द्रेणी साँस्कृतिक विकास केन्द्रले गरेको थियो। कार्यक्रममा लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतम, प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगर, प्राज्ञ टिका पुन, ईन्द्रेणी केन्द्रका संचालक कृष्ण कंडेल र प्रतिका कंडेल लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
‘ईन्द्रेणी दोहोरी तारा’ प्रतियोगिता लोकसंगीतको संरक्षण र प्रवर्द्धनसँगै नयाँ पुस्तालाई प्रेरणा दिने सफल सांस्कृतिक आयोजनाका रूपमा चर्चा बटुल्न सफल भएको छ।
प्रतिक्रिया